म यस हप्ताभरि प्रकाशित भएका नेपाली अखबारहरूका web संस्करण माथि आँखा
डुलाएर हेरिरहेको छु । साइबर संस्करणमा शब्द अनि तस्वीरहरू आगोका
लप्काहरू ओकलिरहेका रुपमा छापिइरहेको देखेको छु र पढेको छु । लोकतन्त्रको
यो महाजात्रमा मेला भरेर पुण्यको भारी घर लैजान तल्लीन मान्छेहरू ,
हिउँदको यो कठ्याङ्ग्रो जाडोमा टायर अनि सग्ला गुड्दै गरेका गाडीहरु
समेतलाई दाउरा सदृश बालेर आगो ताप्ने महोत्सवमा सामेल भएका छन । अब
नेपालगञ्ज र सप्तरीमा मात्र हैन , हिउँदे शितलहर विरुद्दको यो दावानल
हामीले नेपालभरि क्षणभरमै प्रचार गरिरहेका हुनेछौँ । हुनपनि हरेक ६ ६
महिनामा एउटा आन्दोलन नगरी नबस्ने हामी नेपालीलाई गएको वैशाख यता केही
पनि नहुनुले उद्दीग्न बनाएको हुनुपर्छ । हिउँद फूर्सदको याम हो र
फूर्सदमा 'स्फूरण" को बाली फूर्छ । स्फूरणले नया 'आइडिया' दिन्छ अनि
त्यस्को अवतरण र रुपान्तरण सडक, गाडी , भित्ता अनि अरुको सम्पत्तिमाथि
निशुल्क गर्न पाइने भएपछि किन नगर्ने त ?
अर्काको बल्छिका मद्दतले अर्काकै खोलामा आफ्नो थोरै समय खर्चेर भरपूर
'स्याडिष्ट' नशा र स्वादका सालमनहरू फेला पार्ने रहर लागेर सबै सडक झरे त
के नै नौलो भयो त ?
मान्छे स्वतन्त्र बन्न आतुर हुनु स्वाभाविक हो ; मानव स्वाभावमा
स्वतन्त्रता प्रतिको त्यो चाह अथाह छ । व्यक्ति निर्वन्ध स्वतन्त्रता
सदुपयोग गर्न जसरी व्यग्र बन्छ , उसले सचेत भएर अरूका स्वतन्त्र
अधिकारहरूको निर्वाध उपयोगको सीमा अतिक्रमण गर्न पुग्ने सम्भावना पनि
त्यत्तिकै टड्कारो रुपमा अघि आउन सक्छ । सोच्नु पर्ने हो अधिकार र
कर्तव्य वीचको त्यो सन्तुलनका बारेमा , मान्छेले । तर रिसको झोँकमा वेद,
कुरान, त्रिपिटक वा बाइबल कस्ले नै पढ्छ र ?
टायर बालेका दृश्य संगै उड्दो कालो धूवाँका मुश्लाहरूमा हाम्रो अदम्य
लोकतन्त्र यात्रा अन्तरिक्ष तर्फको दिशामा उर्लिएको हो कि भन्ने भान
परेको देखिन्छ। नेपालगञ्ज र सप्तरीले नेपालको वर्तमान सफर कुन एजेण्डा
बोकेर कतातिर गतिमान हुने हुन नेपाली मानसपटललाई झक्झकाएका छन । के यी
घटनाहरू शुरुवात मात्र हुन वा के नहुनु पर्ने छिटपुट बाछिट्टा मात्र हुन
र समय क्रममा हराएर बिलीन हुने छन त ? प्रश्नहरू छन तर जवाफ बिहीन।
नेपाल क्षेत्रफलका हिसाबले सानो मुलुक हैन विश्वमानचित्रमा न त
जनसंख्याका हिसाबले नै । यो मुलुक साना र ठूला मुलुकहरूका तुलनामा मझौला
आकारमा दुवै मापदण्डको कसीमा उभिएको छ । मुलुकको इतिहास सम्पदा अनि अरु
केही विशेषताका कारणले मुलुकले चर्चा पाएको पनि हो कालक्रममा । तर त्यो
पुरातनवाद ठहर्छ अहिलेको समझ र बुझाइमा । बुद्द जन्मे , सीता र जनक
यहीँका थिए, वीर गोर्खाली र सर्वोच्च हिमालको सन्दर्भ तेर्साएर धेरैले
धेरै खाए , कुम्लाए हालैका दिनहरू सम्म पनि । तर वास्तविकता के थियो थाहा
छैन । बुद्द केवल जन्मे कपिलबस्तुमा तर त्यो कालमा त्यो कपिलबस्तु यता
नेपालमा थियो कि उता भारतमा त्यसले स्वयं भन्दैन तर बुद्दले कर्मभूमी
उतैलाई बनाए, वास्तविकता हो त्यो । हामी केवल बुद्दु मात्र बन्ने
हैसियतका भएपछि बुद्द कता जन्मे भन्ने विवादमा हराउनु महाबुद्दूपन मात्र
त होला । हिमालले शेर्पा भरियाको केही जोहो गरिदिए पनि तिनीहरूलाई बलीया
भरियाको हैसियतबाट माथि उठाएको हैन क्यारे ! अनि के लछारे सीता , जनक र
बुद्दले जब बुद्दको शान्तिको सट्टा अर्काको लागि प्रयोग भएर टाउको एक
छप्कामा खुकुरीले छिनाउने वीरको गरिमामा दरिएर विदेशी जागिरमा बिक्ने
मान्छे बन्नुमा हामीले आफ्नो सफलता देख्ने भएपछि ? शान्तिका अनुयायी
बुद्दवादी हामी पाखण्डको अशान्ति रटमा ज्ञानको धज्जी उडाउन मदमस्त छौँ र
आ-आँफैको काटमारमा सफलता खोज्न मग्न छौँ । किन चाहियो जनक र सीताको
सम्झना , तिनको ज्ञान ( मलाई थाहा छैन के ज्ञान दिया हुन कुन्नि , फेरि
यताको कुरा गर्दा बाहुनवादी भइएला। माफ गर्नुस बाहुन त म जन्मदा नै थिएँ
म इच्छाले भएको हैन !)ले मेरो राजनीतिमा भोट ( यसैका लागि राजनीति हुने
हो !)बढ्ने पनि हैन क्यारे !
कति फर्किने अतीत तर्फ ? कुन जमानाको अतीतमा फर्केपछि मैले मेरो वास्तविक
जातीय परिचय फेला पार्न सक्छु? के म बोक्रे युगमा फर्कियौँ , जहाँ पुगेर
समग्र मानवताको एकल साझा अतीत फेला पर्छ- नियाण्डथ्रल र रामपिथेकस युगमा
? जहाँ म नेवार, बाहुन ,गुरुङ वा यस्तै जातिवादको धारणा भन्दा पर पुगेको
हुन्छु। कुन मान्छेको समुदाय युगको कुन निश्चित समयमा वा त्यो भन्दा
पहिला के धर्म मान्दथ्यो वा के भाषा बोल्दथ्यो त्यो कुरालाई 'U'टर्न गरी
फर्काए पछि इतिहासमा एउटा समूहले अर्को माथि गरेको ज्यादतिको अन्त्य हुने
नै हो त ? इतिहासको कुन आधार विन्दुलाई मानेर मैले त्यसपछिका
परिवर्तनहरूलाई ज्यादति मानूँ र संशोधन खोजूँ?
मुसलमान अरबहरू व्यापारीको भेषमा धर्मप्रचार गर्न इण्डोनेशिया र मलेशिया
पुगे र त्यहाँका उदार जीवन शैलिका Austro-Polynesian जातिका मलेहरूलाई
मुसलमानमा धर्मान्तरण गरे , धर्म परिवर्तन भयो तर तिनीहरुले खै कतै अतीत
तर्फ फर्केर आफ्नो परिचय किताबमा खोजेनन। फ्रेञ्च र अंग्रेजी भाषी
अफ्रिकन कालाहरू आफ्ना अधिकार खोज्न खै आफ्नो १ सय वर्ष पुरानो भाषिक ,
जातिगत अनि धार्मिक पहिचान तर्फ लागेनन बरू समग्र कालाहरूले पढ्न ,लेख्न,
योग्य बन्न र योग्यता अनुसारका मौका र अवसर लिन सक्नु पर्छ भन्ने कुरालाई
खोज्नमा लागे । धर्म माने त्यो व्यक्तिको रहर हो , समाजले दखल दिएर अनि
जातिवादका राजनैतिक एजेण्डा बोक्दा जातिगत उन्नमुक्ति हुन्न बरू त्यसले
बन्धनमा बाँध्छ व्यक्ति र समाज दुवैलाई ।
नेपालमा चलेको बाहुनवादी विरोधी प्रलाप बोल्नेहरूले जनजातिवादको आधारमा
'थरवादी' राजनीति गरेका हैनन ? जनसंख्याको क्रमश : १६, १२, र५ प्रतिशत
हिस्सा ओगट्ने बाहुन, क्षत्री र नेवारहरू राज्य संयन्त्रका सबैभन्दा बढी
हिस्सामा छाएका छन । प्रतिशतका आधारमा ठकूरी, राणा र नेवारहरूको बोलवाला
राज्यको संयन्त्रमा सबैभन्दा ठूला stakeholder का रुपमा छ । जनजातिहरूको
लाहुरे विभागमा हङकङ देखि यु के सम्म पूर्ववाद, पश्चिमवाद , गुरुङवाद,
राईवाद लिम्बुवाद आदिको वर्चस्व कति छ भोग्नेले जानून। नेवार भित्र
ज्यापू र गैर ज्यापूवादको प्रताडना पनि तिन्ले जानेकै छन । मधिशेको मसिहा
ठान्नेहरूले थारू रैथानेको आन्दोलन गरिरहेका छन कि हिन्दी भाषालाई स्थान
दिने आन्दोलन गरिरहेका थिए र छन , देखे भोगेकै हो ।
आग्रह यत्ति हो , जातिवादको तुष्टिकरण गर्नु भन्दा अहिले सम्म राज्यको
अवसरबाट बञ्चित गरिएका जुनसुकै जाति र क्षेत्रले प्रथामिकता प्राप्त
गरून , त्यत्ति हो ।
जातिवादका अन्तर्राष्ट्रीय उदाहरण उद्दरण गर्ने हरुले यो कुरा बुझ्न
जरूरी छ कि , १०० वटा थर र उपथर रूपी राज्यवादको उदाहरण संसारमा कतै
मिल्दैन । तुत्सी र हुतुका रुवाण्डाली उदाहरण देखि सिया कुर्द र सुन्नीका
उदाहरण पस्कने हरूले नेपाललाई मंगोल, आर्य र द्रवीड लाइनमा राज्य पस्किन
एजेण्डा अघि सारेका भए ठीकै हो , हैन भने नेपालमा यो तर लाग्ने विषय हैन
। तथ्यमा आँखा गाडौँ सबै त्यहीँ फेला पर्छ ॥
अनि बुर्जुवा र प्रोलिटेरियटको वर्गमात्र समाजमा देख्नेहरु किन आज
जातिवादको खेतीमा अघि बढेका ? गरीब अनि अवसरबाट बञ्चितहरूका लागि मुद्दा
उठाएर तिनको भलो गरिदिने महान कर्म गरिदिए देश, समाज र व्यक्ति सबैको
उत्थान हुन्न र ? सबै जातका अवसरविहीन हरूलाई अवसर दिन सके समाज उठ्दैन र
? जातको पोल्टामा देशलाई सुम्पँदा ती जात भित्रका सामन्तहरूकै हितचिन्तन
गरिदिएको हुँदैन र ? त्यसैले जातिवादको खेती गरी जातिभित्रका सामन्तहरूको
हितचिन्तन भन्दा देशका गरीब र अवसरबिहीनहरू लाई अधिकार दियौँ । २ करोड ८०
लाख मान्छेहरूको मुलुक ,१०० वटा जाति र भाषा अनि सबै जातिका स्वायत्त अनि
जातीय आत्मनिर्णयका अधिकारले सुसम्पन्न आ-आफ्ना राज्यहरू, सबै जातजाति
हरू का लागि प्रचूर न्याय र अवसर अनि एक अक्षुण्ण र सबल नेपाल , के यो
सबै अपेक्षा हजम हुने खालको भयो र ? अनि फेरि त्यही जातिवादी नजरियाले
हेर्दा 'नेपाल' नाम नै नसुहाउला , झण्डा हिन्दूहरूको जस्तो देखिएला, भाषा
संस्कृतबाट खसेको जस्तो देखिएला । कति धेरै कुरा हरू छन ! परिवर्तन नगरी
नहुने , कहाँबाट शुरू गरी कहाँ अन्त गर्ने ? धेरै कुरा गर्न खोज्दा केही
हुँदैन, फगत कुराहरू मात्र हुन्छन ।
न्याय नै हुने हो भने लेवनानमा धार्मिक लाइनमा राज्यका मुख्य ओहदाहरू
बाँडेर देशले शान्ति पाएको छैन क्यारे ।
त्यसैले एउटा काम गर। गरीब अनि अवसरबिहीनलाई अवसर सुनिश्चित गर॥ अरू
चाहिँदैन पहिला गास ,बास ,कपास नभएकालाई त्यो दिलाउने प्रबन्ध गरिदेऊ अनि
तिम्रो राजनीतिले कसैलाई नडस्ने बनाऊ त्यत्ति भए पुग्छ । म यति बेला
कम्युनिष्ट भएको छु- समाजमा केवल २ वर्ग छन : शोषक, शोषित bourgeois र
proletariat ,अनगिन्त वर्गहरू हैन।
No comments:
Post a Comment