जब इतिहास
मूर्दाहरूको तमसूक बनेर
व्याज असुल्ने बहानामा
मेरो पिंढिमा बास बस्न आउँछ
एउटा भुस्तिघ्रे हरूको बथान लिएर
र खोज्न थाल्छ र बोल्न थाल्छ ,
"तेरा बाउले , खाएको तिर" भनेर
म केवल हतप्रभ बन्न सक्छु
किनभने,
मेरो अपराधी ठहर्याएको मृत बाबु
जीवित फर्केर
आफ्नो पिलन्धरे अश्रपूर्ण अनुहारले
न्यायको भिक माग्न सक्नेछैन
त्यसैले , हे आफूलाई
आधुनिक अनि धेरै बुझकी सम्झिनेहरू हो
इतिहास, नारायणी बनिसकेको गण्डकी हो
तिमीले त्यहाँ
सप्तगण्डकीका अलग धारहरू खोज्ने
धृष्टता नगर्नू,
बरू सक्छौ भने ,
तिरमा बाँचेर , वर्षादमा त्राण खोज्नेका लागि
बाँध खोज्नू, रोपाईँ र आउने शरद खोज्नू
भंगाला, गल्छि र बहकिएको अलग धार हैन
बरु महासागर खोज्नू
जहाँ , नदी केवल पानी रहोस्
सतत् निर्झर अनि कञ्चन बगोस् ।।
अस्तु
कृष्ण पौडेल
No comments:
Post a Comment