देशमा लामो समयदेखि द्वन्द थियो , युद्द वा क्रन्तिको प्रकोप थियो ,
सर्वत्र त्राहीमाम को वातावरण थियो । कुल्चँदा गोबर 'गोबर बम' बनी
पड्किन्छ कि भन्ने स्थिति थियो किनभने जतासुकै सकेटबम , रकेटबम,
बाल्टिनबम ,लाल्टिन बम तथानामका बमहरू पड्किरहेका थिए । देश र देशवासी
दुश्मनको टाउको फुटाउन वा छिनाउन गिर खेल्दै थिए र मानौँ देश र देशवासी
एक आपसका चरम बैरी थिए र बैरीको त्यो राज्यमा विजय पाउनु एक अर्काको महान
ध्येय थियो । यस्तैमा एक चरम महत्वाकांक्षी राजाको उदय हुँदो भयो र त्यही
चरम उन्मादी मादकताको शिकारको कारण अहिले ती राजा 'कोमा'को स्थितिमा
पुगेका छन । आन्दोलन भयो, सफल रह्यो , विपरित कित्तामा देखिएका राजनैतिक
दल र माओवादीहरू एक उद्देश्यका साथ एक ठाउँमा भेटिए र जनतालाई लाग्यो कि
देशमा अब अवश्य केही हुन्छ । स्थायी शान्तिको स्थापना , सामाजिक
रुपान्तरण, सामजिक न्याय र आदि इत्यादि चर्चित मुद्दाहरुमा देशका विविध
राजनैतिक शक्तिहरूको वीचमा मतैक्यता बन्नेछ अनि तिनै देश निर्माण र
जनताको समग्र उत्थानका सर्वसम्मत मुद्दाहरुमा एकमत हुने राजनैतिक सोचले
हण्डर र ठक्कर खाएका अभागी जनता र देशको भाग्यमा नया लेखनीको थालनी
हुनेछ भन्ने ठूलो आशा थियो। आशा अझै ज्यूँका त्यूँ छ तर देश निर्माणको
सोचमा लोकतन्त्रको व्यक्ति र भीडवादी उन्मादका कारण फेरि पनि तुषारो नै
छाउने हो कि भन्ने लक्षणहरू जस्ताको तस्तै छन ।
जब राजाको हैकमवादी सैन्य शासन आयो , मान्छेहरूलाई लाग्यो अब चूपचाप
बस्नु पर्छ र सहनु पर्छ त्यसैले धेरैले त्यसो नै गरे । केही पार्टीहरू ,
नागरिक समाजका अगूवाहरू र यस्तै मान्छेहरुले आन्दोलनको धूनी जगाई रहे र
माओवादी र दल वीचको १२ बूँदे समझौता सहितको सहभागिता पछि आन्दोलनको बाढी
चरम चुलीमा पुग्यो , असम्भवहरू सम्भव देखियो ,जनताले आफ्नो तागत महशूस
गरे र सफलता फेला पर्यो ।
हिजोको स्वेच्छाचारी शासनमा चूपचाप बस्न मन पराउने व्यापारी, जातजाति ,
कर्मचारी, विद्यार्थी अनि हरेक तह वर्ग र तप्काका मान्छेहरू अहिलेको
लोकतन्त्रलाई भरपूर सदुपयोग गर्दै छन । नेपाल बन्द , टायर बालन, रेलिङ
भत्काऊ महोत्सवहरू, आदि प्रतियोगिताहरूको फेरि दिन फर्केको जस्तै लाग्न
थालेको छ ।
माओवादीको चन्दा र धन्दा ब्यारेक बनाएर बसी सराकरी कोषबाट १९ करोड लिएपछि
पनि चलेकै छ । उनीहरुको सरकारले आदेश र फरमान आफ्नो शैलिमा जारी गरेकै छ
र यही शैलिमा पुरानो र नया दुवै सत्ता माथिको माओवादी दावाको भरपूर
प्रमाण सर्वत्र छाएको छ । ठिमी क्याम्पस, पब्लिक युथ, उदयपुर र चितवन
रामपुर क्याम्पस सम्म माओवादी ब्यारेकबाट निस्केका छापामारहरुले हामी के
गर्न सक्छौँ र गरिरहेछौँ भन्ने कुराको प्रमाण , विद्यार्थिका रक्तरंजित
कञ्चट, घुँडा र खुट्टाहरुमा खोपिदिएका छन ।
सरकार सामल तुमल बोकाएर प्रहरीलाई जनताको जीउधन रक्षा गर्ने जिम्मेवारी
दिएर पुलिस चौकी पुनर्स्थापना गर्न गाउँ तर्फ पठाउँदै छ र माओवादीहरु
तिनीहरूलाई लखेट्दै नै छन , मानौ युद्द जारि नै छ माओवादीको नयासत्ताले
पुरानो सत्ताको यो अवशेष चाहेको छैन । समझौता र हस्ताक्षर भएकै छन र
तिनीहरूको हरेक मोर्चाबाट धज्जी उडाइएकै छ । मानौँ सबै कुरा अरुले मानेर
अनि अपनाएर लोकतन्त्र धानिदिनुपर्ने हो , आँफू चाहीँ बीना रोकटोक
उन्मादमा रम्ने र अरूलाई डस्ने टोक्ने जे गर्दा पनि हुने हो।
अनगिन्ति ज्यादतिहरू सुदूर गाऊँबाट शहर अनि राजधानी सम्म आउन र समाचार
बन्न मौकै पाउँदैनन भन्ने कुरा थाहा भएकै कुरा हो। देश खण्ड खण्डका
राज्यवादका प्रलाप रोदन रुँदैछ यस्को समाधानको स्वच्छ खाका लिएर कोही
आएको छैन। केवल जातीय तुष्टीकरणका गीत गाइएको छ र प्रलाप रोइएको छ ।
अस्ति लिम्बुवान बन्द , अब सदभावनाको तराई बन्द, आज नेपालगञ्जमा पहाडी र
मधिशेको जातीय तनावका कारण कर्फ्यू लागेको समाचार आएका छन । भोलि १०० वटा
जाति र भाषा भएको देशका अलग अलग उचित श्वरहरूको पहिचान हुनुपर्छ र सबैले
ठाउँ पाउनु पर्छ बन्दै देशको बचेखुचेको सम्पदालाई आगो लगाएर विरोध जनाउन
ठिक्क परेको एउटा तमाशेको हैसियत बन्न पुगेको छ हाम्रो नेपालको । चारै
तिर आन्दोलित भैरहेका र हरेक कुरालाई आगो लगाई ध्वस्त पर्न ठिक्क परेर
बसेका अन्यायमा परेका आक्रोशित अनुहारहरूको व्यग्र उद्दिग्नता नै हाम्रो
वर्तमानको परिचय हो कि जस्तो लाग्न थालेको छ ।
सायद यो भोलिको संविधानसभा चुनाबका लागि रिहर्सल चलिरहेछ । वर्तमानलाई
हेर्ने हो बने भोलिको सम्भावनाक त यसले खिसीमा उडाइरहेको प्रतीत हुन्छ ।
सबैले भन्थे कि हामीले विगतलाई बिर्सीसक्यौँ। विगत बिर्सिनुको अर्थ हो
हाम्रो विगत त्यति राम्रो रहेन र यसमा सुधार गरी अघि बढ्नेछौँ । तर त्यो
हिजोको चरित्रलाई सुधार नगरी कसरी हामी सुधारिएको भइन्छ ? हिजोका
क्रियाकलापबाट जनता र मुलुक आक्रान्त थियो र त्यो हिजोको भ्रष्टाचारी र
लडभीडवादी संस्कार नै दल र प्रजातन्त्र परिहास बन्नुका पर्याप्त कारणहरू
थिए । लोकतन्त्रको जरामा हाम्रो सांस्कारिक रुपान्तरणको मलजल नभए हामी
हाम्रो दावामा खोटो प्रमाणित हुनु सिबाय केही हासिल हुने छैन ।
सद्भावना नामको पा्र्टी सत्तामा बसेको र एमाले नामको पार्टीको भातृ संगठन
सहित ऊ देशलाई कहीँ आंशिक र कहीँ पूर्ण बन्द गराउन आन्दोलित छ । सबैलाई
थाहा छ यो जारी हुने भनिएको संविधान केवल केही महिना सम्मका लागि हो
त्यसपछि जनताका प्रतिनिधि बसेर बेजोड संविधान बनाउने भनिएकै छ , अहिले
निकाल्न नसकिएका विषयहरुको समाधान त्यतिबेलाको संविधानले, जुन तुलनात्मक
रूपमा स्थायी खालको पनि होला, दिन पनि सक्ला भन्ने तर्फ सदभावनाको विचार
जान नसक्नु पनि उदेक लाग्दो कुरा हो । देसमा एक वर्ष भित्रमा थुप्रै
परिवर्तनहरु रेखाङ्कन गर्ने उथलपुथल हुनेछन यदि सही मानेमा धाँदलीरहित
चुनावका लागि वातावरण तयार गर्न सकेमा अनि जस जसले मेरा पक्षमा जनता छन
बन्ने दावा गरिरहेका छन ती सबेको सक्कली क्षमता जगजाहेर हुने नै छ आगामी
केही महिना भित्र । तसर्थ त्यही मुल कुराका लागि मिलेर वातावरण निर्माण
गर्ने कार्यमा नाना खालाका भाँजो खडा गरेर नेपालका राजनीति वाज र
विचौलियाहरू कुन शक्तिको गोठिमा रुपान्तरण भइरहेका छन बुझ्न गाह्रो अवश्य
नै भएको छ । याद रहोस, जसले जे भनिरहेको हुन्छ र जे को नारा फलाक्दै
हुन्छ सही मानेमा उसको अभिष्ट निष्कर्षमा अर्कै फेला परेका उदाहरण
अनगिन्ति छन ।
हिजो पनि परिवर्तन भएकै हो , परिवर्तन पछिको संक्रमणलाई दोष लगाई पञ्छिन
खोजियो । आज पुन: युगान्तकारी परिवर्तन भएको भनिएको छ तर गाडीलाई
'रिभर्स" गियरमा राखेर उही पुरानो संक्रमणको प्रस्थान विन्दु खोजेर
शुरुवात कै झमेलामा हामी अर्को संक्रमणकाल खोज्न लाग्ने हो र प्रवृत्तिको
त्यही वृत्तमा हराउने हो भने हामी केवल परिवर्तनको कोकोहोलो हाली रहेका
हुनेछौँ , केही हासिल गरिरहेका हुने छैनौँ ।
देशले साँच्चि नै लोकतन्त्रको मुहार फेरेर अघि बढ्ने हो कि भन्ने ठूलो
अभिलाषा सारा देशवासीलाई पलाएको बेला फेरि संक्रमणको अर्को दलदलमा हाम्रो
सवारी अघि बढेकै हो त ?
No comments:
Post a Comment