Saturday, May 17, 2008

माओवादीको थाप्लोमा भारतीय आशीर्वादको बोझ

Maoists will work together with other parties: CPI-M leader Yechury
Kantipur Report
KATHMANDU, May 2 - Visiting leader of Communist Party of India Marxist (CPI-M) Sita Ram Yechury Friday expressed confidence that the CPN-Maoist, which has emerged as the largest party in the Constituent Assembly (CA) elections, will move ahead joining hands with other parties.
Emerging from a meeting this morning with Maoist Chairman Pracahanda, Yechury told the media persons: “The elections have made the Maoist the biggest party, and I hope that they will move ahead working together with the Maoists.
Maoist leaders Dr Baburam Bhattarai and CP Gajurel were also present in the meeting held at Prachand’s Nayabazaar residence.

आजको कान्तिपुरको वेब संस्करणबाट साभार ( ०२।०५।२००८)

अहिले भारतीय कम्युनिष्ट पार्टिका एक शिर्षस्थ नेता सीताराम येंचुरी काठमाण्डु भेटमा व्यस्त हुनुहुन्छ । नेपाली राजनीतिका वर्तमानमा स्थापित भइसकेका, हुँदै गरेका शक्तिहरू देखि भर्खरै सम्पन्न चुनाबी बबण्डरले मर्माहत बनेका सबै पक्षहरूको आतिथ्यता येंचुरी महोदयलाई भ्याइ नभ्याइ छ । नेपाली राजनीतिका हालैका अप्रत्यासित परिघटनाका सन्दर्भमा सदासयताको प्रचुर कोसेली लिएर आएका ठानिएका यी मूर्धन्य बामपन्थी नेताको आगमनमा कुनै कालो शंका पनि मनमा उत्पन्न गर्नु पाप ठहरिन्छ जस्तो अनुभव भएको देखिन्छ, सर्वत्र। अत: भारत जति विस्तारवादी भए पनि , त्यहाँबाट गुरूमन्त्र बोकेर नेपाल आउने बामपन्थी नेताहरूको भेटघाटलाई नानाभाँति शंका गर्न खोज्दा अन्तर्राष्ट्रिय रूपमै कम्युनिष्ट बिरुद्द षडयन्त्रकारी बन्न पुगिने पो हो कि बन्ने डर पनि मनमा आउन सक्ने सम्भावना रहन्छ ।
चुनाबमा नराम्ररी पछारिए पनि मलाई हटाउन दुई तिहाइ चाहिन्छ भनेर निर्लज्ज सत्तामा टाँसिएर माओवादीले आर्जेको जनमतलाई अटेरीपन देखाउन खोज्ने धूर्त कोईराला हुन अथवा यो र त्यो माग तेर्साएर माओवादीको सत्ता चढानमा रोकावट लगाउन चाहने एमाले होस् वा सबैभन्दा ठूलो पार्टी बनेको बडप्पनमा कसैलाई नटेरेरै अगाडि बढ्न खोजेको माओवादीको दम्भ होस् अथवा आँफूलाई सम्पूर्ण भारतीय आशीर्वादको एकल वारिस ठान्दै मैमत्त बनेको फोरम नै किन नहोस्, सबैका याचनापूर्ण निगाहा भारतीय कामरेडका येंचूरीका पवित्र पाइलाहरू आ-आफ्ना कार्यालय भित्र प्रविष्ट भएको अनि उनका आशीर्वचन आफ्ना शीरहरूमा बर्सेको देख्न चाहने व्यग्र प्रतिक्षामा छन भन्नु अनुपयुक्त छैन ।
यसो त सीताराम येंचूरी र प्रकाश कारत ( वर्तमान भाकपा महासचिव) नै ती भारतीय नेताहरू हुन जसको जोडबलमा नेपाली कांग्रेस र एमाले अनि माओवादी वीचको १२ बूँदे दिल्ली सहमति सम्भव भएको थियो । यसपछि पनि बीचबीचमा जति बेला नेपाली राजनीतिका यी मुख्य घटकहरू बीचको राजनीतिक सम्बन्ध वा सन्तुलन कमजोड बन्न लागेको आभाष हुन्थ्यो, त्यतिबेला समय व्यवस्था गर्दै दिल्ली वा बंगालतिरबाट मित्र कामरेडहरू आफ्नो सेवा प्रदान गर्न लुरुलुरु आएको हामीले देखेकै हौँ । वहाँहरूको शिप, ज्ञान र दक्षतालाई त धन्यवाद दिनै पर्छ जसका कारणले नेपालको गणतान्त्रिक लोकतन्त्रतर्फको यात्रा सुचारू रूपमा चलिरहेको छ , नानाथरिका बिघ्नहरूलाई चिर्दै र नाघ्दै ।

यद्यपि, यो र यस्तै घटनाक्रमहरूको आँकलन गर्दैगर्दा एउटा कुरा अनुमान गर्न भने गाह्रो पर्दैन । त्यो के भने नेपालमा विशेषत: कम्युनिष्ट विद्यार्थी संगठनहरू वा बिभिन्न कम्युनिष्ट पार्टीहरूका भातृसंगठनको छातामुनि संगठित भएर हुर्के बढेका वा चेतनशिल बनाइएका युवाहरू बीचमा भारतको नेपाल नीति बिरुद्द चर्को आक्रोस छ । भारतको साना छिमेकीहरूप्रति रहेको बलमिचाहापूर्ण छवीका कारण बहुसंख्यक नेपाली मानसिकतामा भारतलाई विस्तारवादीको रूपमा हेर्ने गरेको पाइन्छ र यस खालको नारा विद्यार्थी संगठनका कलेज स्तरीय चुनाबदेखि पार्टी आमसभाहरूमा समेत प्रशस्त सुन्न पाइन्छ – भारतीय विस्तारवाद मूर्दावाद !
तर यी सब कुराका बाबजूद नेपालमा भारतीय प्रभाव कम हुने छाँटकाँट कत्ति पनि देखिएको भने छैन । भारतको नेपालस्थित दूतावास र त्यहाँका प्रमुखहरू कसरी हरेक जसो नेपाली नेताहरूलाई आफ्नो मातहतको ठानेर सल्लाह दिन आफ्नै कार्यालयमा बोलाउँछन् र कसरी बरिष्ठ नेपाली राजनेताहरू लैनचौर दूतावासको आतिथ्यता अपनाएको कुरालाई सगर्व प्रचार गर्न रत्तिभर शर्मिन्दगी महशूस गर्दैनन् , देखे जानेकै कुरा हो । कामरेड प्रचण्डको आठौँ पटक दूतावास छिर्दा पत्रकारबाट पक्राउ परेको स्वीकारोक्ति एवं फोरम र सरकार बीचको पछिल्लो सम्झौता दूतावास मै दूतावासको मध्यस्थतामा हुनुका घटनाले नेपाली राष्ट्रवादको धज्जी उडेको हामीले महशूस गरेको पनि हो ।
अब आशंका जन्मिन्छ कतै बहुसंख्यक नेपालीहरूको दिलोदिमागमा रहेको बामपन्थी रूझानको सोच र नेपाली बामपन्थले चर्काएको भारतीय विस्तारवाद बिरुद्दको भड्कावलाई उपचार दिन कतै भारतले पनि यही बामपन्थी उपचार पद्दतिको प्रयोग गर्न खोजिरहेको त छैन, भारतीय बामपन्थी नेताहरूलाई नेपालको आन्तरिक किचलो मिलाउने जिम्मा दिएर ? नेपालको विषयमा भारतले गर्ने कामकारवाही र नेपाली आन्तरिक समस्याहरुको मिलापत्र गराउन उसले अख्तियारी दिएर पठाएका अड्डा हाकिमहरूको अनुहार आजकल फरक हुने गरेको छ । ती यस्ता पात्रहरू हुने गरेका छन् जो हुन त भारतीय नै हुन र भारतीय नजरियाबाट नै सोच्छन तर नेपालीका आँखाले हेर्दा समेत ती हाम्रा साख्खै मित्र जस्ता देखिने गर्छन् ।
केही समय अघि कान्तिपुर टेलिभिजनमा प्रस्तोता भूषण दाहालको फायरसाइड कार्यक्रममा भारतीय जनता पार्टीको सरकारका अर्थमन्त्री समेत रहेका यशवन्त सिन्हाको एउटा संवाद सुन्दा सम्झेको कुरा अहिले झल्याँस्स याद आयो । उनले त्यहाँ भूषणको प्रश्नमा प्रतिप्रश्न गर्दै सोधेका थिए: “ Do you believe India has any Nepal Policy ? No, no I really don’t know if there is any. In fact, the present government of India has long outsourced its Nepal Policy to its Communist ally, the Communist Party of India (CPI)”. मलाई अहिले आएर यो लाग्दैछ कि भारतीय जनता पार्टीका एउटा पाका नेताका रूपमा यशवन्त सिन्हाको यो भनाइ साँचो अर्थमा प्रतिपक्षी आलोचनाको रूपमा दमदार मात्र छैन कि बरू सच्चाइको धेरै नजिक पनि छ ।
२०४६ सालमा पञ्चायत बिरुद्दको आन्दोलन घोषणा हुँदा गणेशमानको चाक्सीबारीमा चन्द्रशेखर , हरकिशनसींह सुरजित , सुब्रमण्यम स्वामी आदि जस्ता सर्वपक्षीय हस्तिहरूले नेपाली कांग्रेस र बाममोर्चाको पिठ्यूँमा धाप लगाएर आन्दोलनमा अगाडि बढ भन्ने भाषण गर्दैगर्दा , नेपालमा प्रजातन्त्रको पुनर्वहाली चाहने कतिपय राष्ट्रवादीले आँखीभौँ ऊचालेका थिए । भारतीय कम्युनिष्ट पार्टीकै वर्तमान महासचिव प्रकाश कारतको सकृयतामा र उनको माओवादी नेतृत्वसंगको निकटताका कारण पनि अघि बढाउन सम्भव ठानिएको सातदल र माओवादी सहकार्यको बाटोमा मरम्मत संभारको सदासयता पनि कारत र येंचुरीको रहिरहनु पर्छ भन्ने कुरा आँफैमा खोटपूर्ण नमानिन सक्ला , तर हाम्रो मूल्यांकनमा भने हामी प्रष्ट हुन पर्छ कि ?
कतै यो भारतको नेपालप्रति फेरिएको नीति र प्रवृत्ति हो कि , फेरिएका पात्र मात्र हुन ?

No comments: