Wednesday, October 17, 2007

असमञ्जस ‘म’

यो विशाल महासागरको अगम अगोचर विशालताले
मलाई किन आफ्नै हीनतावोधको दृश्य सम्झाउन खोज्छ ?
टापू र भूखण्डहरू क्रमश: खियाउँदै यसका ज्वारभाटाहरू
युगौँदेखि धराको अस्मितालाई श:नै श:नै खाइरहेछन्
कुनै मिथकको अक्टोपस सदृश, ई ज्वारका खुट्टाहरू
रक्तविजका अंकूरित शिरहरू झैँ निरन्तर बढिरहेछन्
सर्वग्रासी, सर्वभक्षी अनन्त जिह्वाहरू लपलपाउँदै
ढुङ्गा, माटो , बालुवा , जरा अनि पत्कररूपी अवरोध
खियाउँदै, निल्दै, सोहोर्दै क्रमश: आफ्नै गतिमान अंगालोमा
कसरी निर्लिप्त बन्छन् ई बलशाली भूज अनि स्तम्भहरू
यो भीमकाय स्थूलता, अनि अजम्बर देखिने स्वरूपहरू
किन खिइन्छन् र खाइन्छन् निरिहतामा, पानीका स्पर्शले
ती नूनिला पानीका लहरहरू पाइतालामा मद्दिम छोइँदा ?
‍……………………………………………………………
म, समुद्रका ई उत्ताल छालसंग , हुत्तिँदै रमाउन सक्दिन
कुन्नि किन ई , यसरी हरदम मच्चिँदै छन, अथाह समयदेखि
किन म आज हराइरहेछु , आफ्नै जीवनका विष्मयहरूको खोजीमा
ती मसंग अन्तरंग रहेका वा भ्रममा नै मैले आफ्नै ठानेकाहरू
किन मसंग आत्मिय बन्न सक्दैनन? र शत्रूता नै साध्न खोझ्छन्
म अपलक जीवन हुनुका ई अफ्ठ्याराहरूको आँकलन गणितमा
किन यसरी निरतन्तर र अनवरत फँस्दै गैरहेको छु, निष्णात ?
किन मेरो मानसमा स्वप्नहरू मिठास बिम्बहरू दिन खोज्दैनन
किन यो स्वबोधको अनन्त गतिमा बढिरहेका लहरहरू
सञ्चारित गराउन सक्दैनन म भित्र , मिठासका उछ्छ्वासहरू
किन यो अगम व्योमको यो अप्रतिम विशालता सिर्जना गर्छ
म भित्र , एउटा कहाली लाग्दो दु;स्वप्नका झुसिला प्रभावहरू ?
किन चट्टानको बलशाली दर्पिलो छाति, बालुवा बन्न वाध्य छ
पानीका यी निरिह देखिने प्रभावबिहीन सुषुप्त देखिने छालहरू संग,
किन अजस्र प्रभावको पथ्थरिलो छाति देखिने यति निरिह हुन्छ
किन सक्दिन म आँफ्नो परिचय त्यो विजेताको अन्तरंगमा खोज्न?
किन अस्तित्वका ज्वार उत्साहहरू पनि घचेट्न खोज्छन केवल
रंगरहित , ध्वंश अनि विनिर्माण र उदासिनताका खण्डहर भित्र !

No comments: