Wednesday, October 17, 2007

असमञ्जस ‘म’

यो विशाल महासागरको अगम अगोचर विशालताले
मलाई किन आफ्नै हीनतावोधको दृश्य सम्झाउन खोज्छ ?
टापू र भूखण्डहरू क्रमश: खियाउँदै यसका ज्वारभाटाहरू
युगौँदेखि धराको अस्मितालाई श:नै श:नै खाइरहेछन्
कुनै मिथकको अक्टोपस सदृश, ई ज्वारका खुट्टाहरू
रक्तविजका अंकूरित शिरहरू झैँ निरन्तर बढिरहेछन्
सर्वग्रासी, सर्वभक्षी अनन्त जिह्वाहरू लपलपाउँदै
ढुङ्गा, माटो , बालुवा , जरा अनि पत्कररूपी अवरोध
खियाउँदै, निल्दै, सोहोर्दै क्रमश: आफ्नै गतिमान अंगालोमा
कसरी निर्लिप्त बन्छन् ई बलशाली भूज अनि स्तम्भहरू
यो भीमकाय स्थूलता, अनि अजम्बर देखिने स्वरूपहरू
किन खिइन्छन् र खाइन्छन् निरिहतामा, पानीका स्पर्शले
ती नूनिला पानीका लहरहरू पाइतालामा मद्दिम छोइँदा ?
‍……………………………………………………………
म, समुद्रका ई उत्ताल छालसंग , हुत्तिँदै रमाउन सक्दिन
कुन्नि किन ई , यसरी हरदम मच्चिँदै छन, अथाह समयदेखि
किन म आज हराइरहेछु , आफ्नै जीवनका विष्मयहरूको खोजीमा
ती मसंग अन्तरंग रहेका वा भ्रममा नै मैले आफ्नै ठानेकाहरू
किन मसंग आत्मिय बन्न सक्दैनन? र शत्रूता नै साध्न खोझ्छन्
म अपलक जीवन हुनुका ई अफ्ठ्याराहरूको आँकलन गणितमा
किन यसरी निरतन्तर र अनवरत फँस्दै गैरहेको छु, निष्णात ?
किन मेरो मानसमा स्वप्नहरू मिठास बिम्बहरू दिन खोज्दैनन
किन यो स्वबोधको अनन्त गतिमा बढिरहेका लहरहरू
सञ्चारित गराउन सक्दैनन म भित्र , मिठासका उछ्छ्वासहरू
किन यो अगम व्योमको यो अप्रतिम विशालता सिर्जना गर्छ
म भित्र , एउटा कहाली लाग्दो दु;स्वप्नका झुसिला प्रभावहरू ?
किन चट्टानको बलशाली दर्पिलो छाति, बालुवा बन्न वाध्य छ
पानीका यी निरिह देखिने प्रभावबिहीन सुषुप्त देखिने छालहरू संग,
किन अजस्र प्रभावको पथ्थरिलो छाति देखिने यति निरिह हुन्छ
किन सक्दिन म आँफ्नो परिचय त्यो विजेताको अन्तरंगमा खोज्न?
किन अस्तित्वका ज्वार उत्साहहरू पनि घचेट्न खोज्छन केवल
रंगरहित , ध्वंश अनि विनिर्माण र उदासिनताका खण्डहर भित्र !

Tuesday, October 16, 2007

जिते अल गोरले बुशलाई

-एकलव्य

यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त रूपमा भएपनि पूर्व अमेरिकी
उपराष्ट्रपति एवं ७ वर्षअघि विवादास्पद रूपमा अमेरिकी राष्ट्रपतिको
निर्वाचनमा पराजित तत्कालीन उमेदवार अल गोरले जित्न पुगेका छन् ।
हिजोमात्र नोबेल एकेडेमीले घोषणा गरे अनुसार अल गोरले 'भूमण्डलीय
ऊष्मीकरण' को समस्यालाई जुन रूपमा महत्व दिएर, यो मानव निर्मित
समस्याप्रति विश्व भरकै ध्यान खिच्नका लागि योगदान र समर्पण दिएका छन्
त्यस कार्यको उच्च मूल्यांकन गर्दै यो पुरस्कार पर्दान गरिएको हो । अल
गोरलाई लगभग १५ लाख अमेरिकी डलर बराबरको यो पुरस्कारको आधा राशी उपलव्ध
हुने कुरा त्यति ठूलो अवश्य हुने छैन, तर नोबेल शान्ति पुरस्कार प्राप्त
हुनुको प्रतिष्ठा र नोबेल एकेडेमीले उनलाई प्रदान गरेको ' उद्देश्यसहितको
राजनीतिज्ञ' उपाधीले भने , सात वर्षअघि सम्पन्न अमेरिकी राष्ट्रपतीय
निर्वाचनमा वर्तमान राष्ट्रपति जुनियर जर्ज बुशबाट पराजित हुनु पनि अल
गोरका लागि 'ब्लेशिङ इन डिसगाइज' थियो भन्ने कुरा प्रमाणित भएको छ । यो
बिडम्बना नै मान्नु पर्छ , त्यतिबेला निर्वाचन जितेर विश्व कै अति
शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति बन्न पुगेका जर्ज बुश आज ध्वंश,
अशान्ति र युद्ध र मानवता बिरोधी गतिविधिका पर्याय बन्न पुगेका छन भने
सोही निर्वाचन हारेका भनिएका अल गोरले मानवताका लागि भविष्य नै खतरामा
पार्न सक्ने 'भूमण्डलीय ऊष्मीकरण' को मुद्दालाई सर्वाधिक चर्चामा मात्र
ल्याएका छैनन, यो खतराको रोकथामका दिशामा अप्रतिमान सहयोग र कर्म जुटाएका
छन् ।
राष्ट्रपति बनेकै दिनदेखि जर्ज बुशले युद्दको कोकोहोलो मच्चाएर
अफगानिस्तान र इराकालई लगभग ध्वस्त बनाइदिएका छन् । बुशको यो सात वर्षे
अवधिमा भएको अमेरिकी हस्तक्षेपका कारण आजसम्म लगभग १५ लाख जति मान्छे ई
दुई मुलुकमा मारिइसकेको अनुमान छ भने , स्वयं अमेरिकी सैन्य र सम्पत्तिको
क्षति पनि क्रमश: ५००० सिपाहीको शहादत र ५०० बिलियन डलरको सीमापार पुगेको
छ । अल कायदा, तालिवान र सद्दाम हुसेनको सम्भावित आक्रमणबाट अमेरिकालाई
प्रतिरक्षा गर्न भनी रचिएको यो बिभिषिका र विनाशका बाबजूद आज अमेरिका
हिजो भन्दा झन बढी असुरक्षित बन्न पुगेको छ भन्ने जानिफकारहरू को बुझाइ
रहेको छ भने यो सबै मानवीय र भौतिक लगानी के का लागि थियो भनेर जो कोही
प्रश्न गर्न सक्ने हालतमा पुगेका छन् । यसरी अमेरिकी इतिहास मै सबैभन्दा
विवादास्पद राष्ट्रपतिय चुनावको नतिजा जसोतसो आफ्ना पक्षमा पार्न सफल
जर्ज बुश उक्त चुनाब र सो पद जितेर पनि मानवियताको कसीमा हारेर रिटायर्ड
हुनेछन , अर्को सालको अन्त्य सम्ममा भने , त्यो बेला हारेका अल गोर
जुनियर यति बेला चम्केका छन् , पृथ्बी र मानव अस्तित्व रक्षाको संघर्षका
लागि समर्पित योद्दाका रुपमा ।
हुन पनि अल गोरले जहिले देखि राष्ट्रपतिको पदका लागि लडेको चुनाव हारे र
सकृय राजनीतिसंग नाता अलग्याए , उनको प्रसिद्दि केवल बढ्न थाल्यो । उनी
अध्यक्ष रहेको करेण्ट टेलिभिजनले अन्तरकृयात्मक टेलिभिजनको रचनात्मक
उपलब्धिको विशिष्ट उपाधी यही साल पायो भने २००६ मा अल गोर आँफैले
निर्माण र अभिनय गरेको 'इनकन्भिनियण्ट ट्रूथ' नामक वृत्तचित्रले त
एकेडेमी पुरस्कार नै हात पार्यो । आज गुगल, एप्पल, एलायन्स फर
इनवायरोमेण्ट प्रोटेक्सन जस्ता विश्वका सर्वाधिक सफल संस्थाहरू अल गोरको
नाम आफ्नो बोर्डमा राखेर सफल ठान्ने प्रयत्नमा छन भने वातावरणीय संकट र
भूमण्डलीय ऊष्मीकरणका विषयका भाषण, लेख र प्रकाशनहरूमा अल गोरको
सम्बद्दतालाई मात्र पनि आफ्नो सफलताको रूपमा व्यक्ति र संस्थाहरूले लिने
गरेको पाइन्छ । ऊनको २००७ मा प्रकाशित 'दि एसोल्ट अन रिजन' नामक पुस्तक
पनि उत्तिकै चर्चित बन्न पुग्यो । यो कुराको उत्कर्ष भने यस वर्षको नोबेल
पुरस्कारको घोषणामा पुगेको छ, जहाँ पुगेर पराजित राषट्रपति अल गोर
आँफूलाई हराउने भन्दा धेरै अग्लो कदमा देखा परेका छन् ।
हुनसक्छ , हाम्रो जस्तो मुलुक जहाँ जनता र नेता गास , बास, कपास र जीवन
सुरक्षा को मध्ययुगीन मागमा नै राजनीति गर्न वाध्य छन् , त्यहाँ पृथ्वि
तात्ने, ध्रुवीय हिऊँ पग्लने , समुद्र सतह बढ्ने , मानव र उसका सहयात्री
जीवहरूको विनाश र अन्ततोगत्वा मानवीय विनाशका कुराहरू कल्पित कथा जस्ता
लाग्न सक्छन् । तर पनि नेपालको शान हिमालको हिऊँ पग्लेर खण्डहर जस्ता
बनेका राता र काला रंगका डरलाग्दा पहाड, बाढी, खडेरी, भूक्षय जस्ता
पृथ्वी उष्मीकरणका अवस्यम्भावी प्रभावबाट भने हामी पनि मुक्त हुन सक्ने
छैनौँ किनभने ती विषयसंग अलिकति भए पनि जुध्न सक्ने प्रविधि र भौतिक
सामर्थ्यको हैसियत पनि गरीब र सँधै राजनैतिक आन्दोलनमात्र लड्ने बानीको
खोक्रो अनुभव बोकेका हामीसंग हुने छैन ।
जे होस् अल गोरको आन्दोलन विश्वका मानवहरू, जीवहरू र वातावरण सबैका लागि
हो र उनको पछिल्लो उपलब्धिले हाम्रा चिन्ताहरुको पनि सम्मान गरेको छ ,
भलै यो त्य्सतो नदेखियोस् किनभने यहाँ राजा र संविधानसभाको चर्चा नै
देखिँदैन । तर , त्यतिबेला हारेका गोरले हाम्रा राजनीतिवाजलाई पनि थोरै
ज्ञान भने दिएका छन् , संसार जित्नलाई चुनाब जित्नै पर्छ भन्ने छैन,
चुनाब हारेर पनि अझ ठूलो विजयी भन्ने अरू अनन्त संभावनाको संसार पनि छ ,
विकल्पमा ।

बधाई छ , अल गोर र वातावरणवादी पुरोधाहरूलाई !

Coming back after a slumber !

It has been long since I last posted an article. Now I promise to come back and update my blog space with new posts.