Thursday, April 5, 2007

नेपाली राजनीतिको हिंसात्मक अध्यायको पटाक्षेप र नया तरंग:

नेपाली राजनीतिक रंगमञ्चलाई बिगत १२ वर्षदेखि गएगुज्रेको बनाउँदै आएको एउटा हिंसात्मक आन्दोलन यसका सञ्चालक माओवादीहरू विधिवत रूपमा गत हप्ता अन्तरिम सरकारमा सम्मिलित हुनपुगे पछि पटाक्षटेप हुन पुगेको छ ।यो घटनाका थुप्रै छोटा र दूरगामी महत्वका असर हुन सक्छन । तर पनि , जनताले लामो समयदेखि अपेक्षा गरेको शान्तिपूर्ण जीवन व्यतित गर्न पाउने र जीवन रक्षाको अधिकारको कोणबाट सोच्दा शान्ति अपरिहार्य अनुभव भैरहेका हुनाले , सो को उपलब्धता अब हुन्छ कि भन्ने कुरामा बढी विश्वस्त हुन सकिने स्थिति बनेको कुरा साँचो हो । तर पनि शान्तिको यो भयानक आकांक्षाका बावजूद एउटा क्रान्तिकारी शक्तिको राजनैतिक महत्वाकांक्षा यसरी सम्झौतापरस्त राजनीतिको भागबण्डे राजनीतिमा फँस्न पुग्दा देसले पु:न आमूल परिवर्तनको मुद्दामा फेरि धोका पाएको हो कि भनेर वर्तमान घटनाक्रमलाई बुझ्ने सन्देहवादीहरू पनि नेपालमा प्रशस्त भेटिन्छन । यस्ता मान्छेहरू विशेषत: व्यवहारवादी राजनीतिको मध्यपन्थी धारलाई धोका, गद्दारी र विसर्जनवादी समझौतापरस्ते बाटो भन्दै , लेनिन र माओका पुस्तकमा वर्णित सन्दर्भलाई उद्दरण गर्ने कट्टर बामपन्थीहरू हुने गर्छन ।

उपर्युक्त झिनो विरोधका बावजूद अधिसंख्यक नेपालीहरूलाई , नेपाली राजनीतिमा बिगत १ वर्षभन्दा पनि कमसमयमा घटेका द्रूत राजनैतिक घटनाक्रमले दिलाएको परिवर्तन अनपेक्षित रुपमा मीठो र सुखद अनुभूति हुनपुगेको छ भन्ने कुरामा अत्युक्ति हुन हुँदैन । तर यो माओवादी समेत सम्मिलित सरकारको गठन मात्रैले, हिंसात्मक द्वन्दको साँचो पटाक्षेप त भइसकेको छैन । उदाहरणका लागि , माओवादी छापामारहरू देशका राष्ट्रिय सेना झैँ समानान्तर शैलिका ब्यारेकमा , राष्ट्रिय कोषबाट रसदपानी खाएर एउटा पार्टी प्रति मात्र समर्पित , वफादार र परेका खण्डमा संयुक्त राष्ट्रिय मिसनको निगरानीमा कण्टेनरबन्द हतियार झिकेर आफ्नो दलको उद्देश्य बमोजिम लड्ने नै हो भन्ने कसम र प्रतिवद्दतासाथ रहेका छन भने हाजारौँ मिलिसियाहरूको समूह सार्वजनिक जीवनका हरेक मोर्चामा योङ कम्युनिष्ट लिगका युवाका रूपमा छाएका छन । अहिलेको परिवर्तित माहौलमा यी युवाहरूको मात्र बोलि बिकिरहेको छ कि जस्तो देखिन्छ किनभने सरकारी अफिस, पुलिस, सेना र सरकारको संयन्त्र यसरी पाखामा उभिएको मूकदर्शक बनेको छ वा बनाइएको छ कि मानौँ देशमा राज्य नामको संयन्त्र अहिले चिर निद्रामा लीन छ । यसमा कम्युनिष्ट लिगका युवाहरूले कानून हातमा लिएर मनोमानी गरे भन्ने हैन , कुनै पनि मुलकको राजनैतिक संक्रमणका परिवर्तनकारी समयमा यस खालका प्रभावहरू देखिन्छन नै तर पनि समझबुझको मात्रा कम र मादक भिडन्तवादी विकार युवाहरूको यो समूहमा रहिरह्यो र अरूलाई स्थान नै नदिने बलमिचाहा प्रवृत्ति कायम रहीरह्यो भने , शान्ति सम्झौताको धज्जी उडिरहने छ । तर पनि , नेपाली राजनीतिको मैदानमा विगत १२ महिनाका घटनाक्रम र एउटा हिंसावादी राजनैतिक शक्तिसंगको सम्झौता यति फलदायी मुकाममा यति छोटो समयमा आइपुग्नु हामी नेपालीका लागि मात्र एक सुखद आश्चर्य हैन , विस्वकै लागि एउटा नमूना बन्न पुगेको कुरा भने साँचो हो । हाम्रा छिमेकी मुलुकका हिंसात्मक आन्तरिक युद्दहरू तथा कैयौँ अफ्रिका र ल्याटिन अमेरिकाका पनि समान खाले आन्तरिक हिंसात्मक युद्धरूका अनुभवले के सिकाएको थियो भने हिंसात्मक युद्दको थालनी भन्दा तिनीहरूको शान्तिपूर्ण बैठान अझ जटिल कुरा हो । उदाहरणका लागि स्थायी शान्तिका लागि गरिएको श्रीलंकन युद्धविराम ५ वर्षसम्म लखतरान बाँचेर फेरि युद्ध घोषणाको संघारमा उभिन पुगेको छ , नर्वेको अन्तरा्ष्ट्रिय मध्यस्थता र अरूको शुभेच्छाका बावजूद । हुन त यो पृथकतावादी द्वन्द हो र छिमेकी मुलुक भारतका पनि धेरै जसो आन्तरिक युद्धहरू यही प्रकृतिका रहेका छन , त्यसैले तिनको निरूपणमा पनि भिन्न जटिलता पक्कै अन्तरनिहित छन । विकसित र सभ्य मानिएको आधुनिक प्रजातन्त्रको जननी मुलुक बेलायतको नर्दर्न आयरल्याण्डको शान्ति प्रकृयाले पनि सम्पन्न हुन धेरै पर्खिनु परेको थियो भने सुडान, अंगोला लगायतका अफ्रिकी मुलुकहरु र पेरु , ग्वाटेमाला, र कोलम्बियाका आन्तरिक भिडन्तको कुरा गरी साध्य नै छैन ।

हुन त नेपालमा यी छिटोछिटो भएका राजनैतिक परिवर्तनका घटनाक्रमलाई , भारतीय राजनितिकारहरुको ( भारत सरकार, प्रतिपक्ष, कम्युनिष्ट पर्टीहरू र विशेषत: कामरेड बाबुरामका गुरु मानिने प्रो एस डि मुनि र बामपन्थी राजनितका हस्तिहरू: प्रकाश कारत र सिताराम येंचुरी) गुरुयोजना मानेर बुझ्ने बुझकीहरू नभएका पनि हैनन, तर मेरो विचारमा नेपाली राजनीतिको यो द्रूत परिवर्तनकारी गतिविधिका योजनाकार अहिलेसम्म नेपाली राजगद्दिका गद्दिनसीन महाराज नै हुनुपर्छ। किनभने , राजा विरेन्द्रको वंशनाशको समय सम्मपनि माओवादीले निकै प्रशंसा गरी मन पराएका नेपाली राजा वा राजतन्त्र , अचानक भएको वा रचिएको दरवार काण्ड पछि मात्र माओवादीको नजरमा आलोच्य बन्न पुगेको थियो । अझ त्यसपछि राजा ज्ञानेन्द्रको दम्भ र अकण्टक राजा बन्ने महत्वाकांक्षा जुन शैलिले अगाडि आयो , त्यस कुराले आगोपानी बाराबारको सम्बन्ध भएका संसदवादी दलहरू र माओवादीलाई मिलेर अघि बढ्नै पर्ने परिस्थितिमा सामुन्ने खडा गरिदियो र त्यही सन्दर्भले सिर्जित योजनाहरू सफल हुनपुग्दा वर्तमानसम्म गति सम्भव हुन पुग्यो , नेपाली राजनीतिको भीषण परिवर्तनको उहापोह । अझैपनि दरवार र उसका शुभेच्छुकहरूबाट हुनसक्ने घात र प्रतिघातका र षडयन्त्र रचिनु र तिनको क्रियान्वयन हुन पाउनु पूर्व छिटोछिटो अन्तरिम सरकार गठन गरी संविधानसभाको चुनावसम्मको यात्रा तय गर्नै पर्ने आवश्यकता भएको हुनाले नेपालको राजनीतिमा सबैलाई अचम्मित पार्ने खालको शान्तिपूर्ण राजनीतितर्फको शिघ्रतिशिघ्र प्रकृतिको परिवर्तन सम्भव भएको हो । तर पनि , शान्ति प्रकृयामा संलग्न राजनैतिक नेतृत्वबाट यो जस खोस्न खोजिएको अर्थ भने लाग्नु हुन्न ।

जसले जे भनोस वा सोचोस् , नेपाली राजनीतिको एउटा क्रान्तिकारी धार सम्झौतावादी राजनीतिको विसर्जनवादी भासमा जाकियो भनेर माओवादीलाई खिसिट्युरी गर्ने राजनीतिवाज त हुने छन नै , माओवादीकालाई पनि सम्झौतावादी राजनीतिको middle point को खोजी गरी त्यस्को सम्मान गर्न सिक्नै पर्ने परिस्थितिमा वर्तमान घटनाक्रमहरूले उभ्याइदिएको छ ।


माओवादी सम्मिलित अन्तरिम सरकारको गठन सम्म आइपुग्दा नेपाली जनताको शान्तिपूर्ण रूपमा बाँच्न पाउने चहनालाई विधिवत सम्मान प्राप्त भएको छ, तर देशका लागि आमूल परिवर्तनका लागि भनेर लडिएको नेपाली इतिहासकै रक्तंजित सवा दसकको युद्धले ऊचालेका सामाजिक, आर्थिक र देशिय मुद्दाहरू के हुने हुन र शान्ति प्रकृयाको सैद्दान्तिक पाटोमा जे भए पनि त्यसको व्यवहारिक पाटोको व्यवस्थिति कसरी गरिने हो र अझ निर्भय रुपमा संविधानसभाको निर्वाचनमा मतदान गर्न पाइन्छ भन्ने कुरामा त्यो सं रा सं को मिसन छ क्यारे त्यस्ले निगरानी गरिहाल्छ ढुक्क भएहुन्छ भन्ने खालको सोचको मात्र भर पर्नु नपरोस् भन्ने कामना भने हामीले गर्नैपर्छ, क्यारे ।



अन्त्यमा दूइटा कुरा:

१) नवनियुक्त संचारमन्त्री कृष्ण महराले मन्त्रि बनेपछिको पहिलो साक्षात्कारमा संचारमा विदेशी लगानी रोक्न सकिन्न भन्नु भएछ, जुन कुरा कामरेड प्रचण्डको २ हप्ता अगाडिको बुटवल अन्तरवार्ताको १८० डिग्रि फरकमा परेछ। अब के भन्ने ,सत्ताले यति छिटो मान्छे बदल्छ ?

२) जिन्स पाइण्टमा unconventional attire मै ( वहाँमात्र हैन है त्यसो गर्ने ) शपथ खाएर चर्चित बन्नु भएकी महिला कामरेड हिसिला यमीले , माओवादी मन्त्रीको प्राइभेट सम्पत्ति नहुने भएकाले भ्रष्टाचार गर्ने कुरै हुँदैन भन्नु भएछ । कुरा धेरै आसावादी छन ,तर भ्रष्टाचार त पार्टी चलाउन पनि गर्नु नपरोस् कामरेड , शूभकामना । तर हेर्नुस त गोविन्दराज, खुमबहदुर, चिरंजीवी, भिम रावल, झलनाथ खनाल सबै त्यहीबाटो चप्पल पड्काउँदै, भ्रष्टाचार विरुद्द जेहाद छेड्छु भनी सरकारमा पसेका हुन तर के भयो तिनको हैसियत ? राम्रो कुरा सुनेकै हो पहिला पनि तर भनेजस्तो भएन त्यो पाला , अब होस् शुभकामना !